बल्ढेङगढीमा कबुलियती बन बनाईदै

1669

भुवन कार्की
पाल्पा, १३ असार । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीमा पहिलो पटक कबुलियती बन बनाउन थालिएको छ ।
ऐतिहासिक बलिहाङ राजाको गाउँ भनेर चिनिने बल्ढेङको गढी किल्ला वरपरको करिब चार हेक्टर क्षेत्रफलको पाखोमा कबुलियती बन बनाउने काम थालिएको छ । उक्त स्थानमा एकसाता लगाएर गाउँलले झाडी सफाई गरेको स्थानीय झमबहादुर रायमाझीले जानकारी दिए ।
सब डिभिजन वन कार्यालय बल्ढेङगढीका प्रमुख प्रेम चौधरीका अनुसार यस क्षेत्रमा करिब पाँच हजार वटा दालचिनी र टिमुरका विरुवा रोपिने छ । असार महिनाभित्रै यी विरुवा रोपिने छन् । सरकारी स्वामित्वको यो पाखोमा रोपिने टिमुर र दालचिनीको उत्पादन स्थानीयले उपभोग गर्ने गरी कबुलियती बन बनाउन लागिएको हो । जिल्ला वन कार्यालय पाल्पाको पहलमा कबुलियती बन बनाउन लागिएको हो । कबुलियती बन हस्तान्त्रण भने अर्को वर्ष हुने चौधरीले उल्लेख गरे । ४० बर्षका लागि यो कबुलियती वन समुदायमा हस्तान्त्रण हुनेछ ।
हालसम्म बनमाराले ढाकेको यो पाखोमा दालचिनी र टुमुरको खेती गरेपछि स्थानीयको आयआर्जनामा समेत टेवा पुग्ने विश्वास लिईएको स्थानीय भुमिका रास्कोटीले बताइन् । गाउँलेले एक सातासम्म झारा गएर झाडी सफाई गरेको उनले उल्लेख गरिन् ।
धार्मिक पर्यटनको लोकप्रिय क्षेत्रको रुपमा विकसित हुँदै गएको बल्ढेङगढीको यस ऐतिहासिक गढी क्षेत्रमा बन्ने कबुलियती बनले यहाँको भौगोलिक सुन्दरता समेत बढाउने स्थानीयले आशा लिएका छन् ।

तस्विर : झाडी सफाई गर्दै स्थानीबासी ।