वडा अध्यक्ष पुनद्धारा शिक्षकलाई हातखुट्टा भाँच्ने धम्की

1022

भुवन कार्की
पाल्पा, २९ जेठ । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनले स्थानीय एक शिक्षकलाई हात खुट्टा भाँचिदिने धम्की दिएका छन् ।
वडाको जोगदमार निवासी पुनले आफ्नै छिमेकका स्थानीय शिक्षक प्रेम पोखरेललाई मंगलबार फोन गरी हात खुट्टा भाँचिदिने धम्की दिएको शिक्षक पोखरेलले बताए । पोखरेल स्थानीय मनकामना प्राविका निजीस्रोतका शिक्षक हुन् ।
विद्युतको मिटर जडानको लागि सिफारिस माग गर्दा वडा कार्यालयले नदिएपछि शिक्षक पोखरेलले विद्युत कार्यालय पाल्पामा मौखिक उजुरी गरेका थिए । उजुरीपछि वडा अध्यक्ष पुनलाई विद्युत कार्यालय पाल्पाका एक कर्मचारीले मंगलबार विहान फोन गरी त्यसो गर्न नहुने बताएपछि त्यसैको आवेगमा वडा अध्यक्ष पुनले धम्की दिएको पोखरेलले उल्लेख गरे ।
पोखरेलले भने, ‘गाउँमा पानीको काम गर्दा झारा नगएको भनी हामी तीन घरलाई वडाले सिफारिस दिएको छैन तर झारा नगएका अन्यलाई भने सिफारिस दिइएको छ ।’ झारा नगएपनि त्यसबापतको पैसा तिरेको र केही रकम बाँकी रहेको बताउँदै पोखरेलले त्यही निहुँमा मिटर जडानको सिफारिस रोकिएको उल्लेख गरे ।
उनका अनुसार आफूसहित खिमानन्द पोखरेल र केशव पोखरेललाई पनि विद्युतको मिटर जडानको लागि सिफारिस दिईएको छैन । उक्त गाउँमा अन्य सबैको घरमा विद्युत विस्तार भएको उनले बताए ।
पोखरेलले भने, ‘देवेन्द्रले हात खुट्टा भाँचिदिन्छु भन्ने धम्की दिएपछि म घरमा पनि नियमित बसेको छैन, डरले छिमेकीको घरमा धेरै समय बिताउने गरेको छु ।’ उनले थपे, ‘सबैले बिजुली बाल्दा हामीले नपाएपछि विद्युत कार्यालयमा टेलिफोनबाट गुनासो गरेको हुँ, त्यसैको कारण यो धम्की आयो ।’
उता यसबारे प्रतिक्रिया लिन खोज्दा वडा अध्यक्ष देवेन्द्र पुन भने सम्पर्कमा आउन चाहेनन् । पुनका साथी सुरेश रायमाझीले उनीहरुबीच फोनमा सामान्य विवाद भएको आफूले सुनेको बताए । तर धम्कीको विषयमा आफू अनबिज्ञ भएको बताए ।