सांसद विकास कोषको बजेट नलिने निर्णय

257

भुवन कार्की
रुपन्देही, जेठ २५ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर पाँचको संसदीय दलले प्रदेश सांसदले सांसद विकास कोषको बजेट नलिने निर्णय गरेको छ ।
प्रदेश पाँचको संसदीय दलको शुक्रबारको बैठकले यो निर्णय गरेको शनिबार बुटवलमा आयोजित कार्यक्रममा संसदीय दलका उपनेता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभयो ।
सांसदहरू नीति निर्माणका लागि नीति बनाउने थलोमा रहेकोले विकास निर्माणसँग प्रत्यक्ष जोडिन आवश्यक नरहेको र विकास निर्माणका लागि काम गरिरहेका तह र निकायले नै काम गर्नु पर्ने भन्दै सांसदहरूले क्षेत्र विकास कार्यक्रम आवश्यक नरहेको निष्कर्ष निकालेका हुन् ।
प्रदेश नम्बर पाँचको प्रदेशसभाका अधिकांस सदस्यले संसद विकास कोष र निर्वाचन विकास कोष मार्फत वितरण हुने बजेटको विपक्षमा उभिएका केसीले बताउनुभयो ।
संसदीय दलले पत्रकारसंग गरेको अन्तरक्रियामा प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सरकारको योजनाका अधारमा सन्तुलित विकासलाई जोड दिइएको बताउनभुयो । उहाँले संसद विकास कोष र निर्वाचन विकास कोष मार्फत वितरण हुने बजेट संघियताको भावना विपरित हुने उल्लेख गर्दै यस्तो वितरण प्रणालीले प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने तर्क गर्नुभयो ।
प्रमुख सचेतक ढकालले विकासको अवधारणामा केन्द्रित भएर खानेपानी, सिंचाइ लगायतका विषयमा ध्यान केन्द्रित हुने जानकारी दिंदै दुबै कार्यक्रम नराख्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले योजना बनाएर सन्तुलित विकासका लागि लगानी गर्छ ।’ यसअघि बसेको प्रदेश नम्बर पाँचको प्रदेशसभाको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विषेश समयमा वोल्दै संसद विकास कोष मार्फत छ करोड प्रदान गर्ने विषय खारेज गर्न माग गर्नुभएको थियो ।
कार्यक्रममा आधा दर्जन पत्रकारले संसदीय दल तथा प्रदेश सरकारलाई विभिन्न सुझाव दिएका थिए ।