बुटवलमा सस्तो दशैं बजार शुरु

1374

रूपन्देही, असोज २४ गते । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सस्तो दशैं बजार शुरु भएको छ । बुटवलको हाटबजारलाइनस्थित बालमन्दिर प्रांगणमा शुरु भएको दशैं बजारमा खाद्यान्न लगायत दैनिक उपभोग्यवस्तु, फेन्सी कपडा, गार्मेन्ट, इलेक्टोनिक्स, जुत्ताचप्पल, माछा लगायतका ४० स्टल रहेका छन् ।
पाँच दिनसम्म चल्ने दशैं बजारमा दुग्ध विकास संस्थान, साल्ट टे«डिङका उत्पादन पनि राखिएको छ । दशैं बजारमा चिनी प्रति किलोग्राम ५८ रुपैयाँं, डीडीसी घिउप्रति किलोग्राम ८ सय १० रुपैयांमा उपलब्ध गराइएको छ । उपभोक्तालाई सहुलियत दिने उद्देश्यले दशैं बजारमा घिउ प्रतिकिलोग्राम एक सय रुपैयांँ र खाने तेल बजार मूल्य भन्दाप्रति कार्टुन ५० देखि ७० रुपैयां सस्तोमा उपलब्ध गराइएको संयोजक पौडेलले बताउनुभयो । अन्य सामानमा कम्तीमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट गरिएको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनुभयो । दशैं बजारको मुख्य आकर्षण नयां नोट सटही रहेको छ । दशंै बजारमा आउने सर्वसाधारणले ग्लोबल आईएमई बैंकको स्टलबाट ५ हजार रुपैयांँ नयांँ नोट साट्न पाउने व्यवस्था मिलाइएको छ । संघले दशैं बजारमा कम्तीमा एक करोड नयांँ नोट, ७० क्वीन्टल चिनी, एकहजार लिटर घिउ सर्वसाधारणलाई उपलब्ध गराउने छ । यसपटकको दशैं बजारमा कम्तीमा १० हजार व्यक्तिले किनमेल गर्ने र एक करोड रुपैयांको कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले बताउनुभयो । संघको मेलामा गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर गुणस्तरीय र ब्राण्डेड सामान मात्र विक्रिका लागि राखिने संघले बताएको छ । रुपन्देहीका अन्य मेलामा कम्तीमा ५० रुपैयांको प्रवेश टिकट काट्नुपर्ने भएपनि संघको दशैं बजारमा निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था छ ।
दशैं बजारको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुधबार उद्घाटन गर्नुभयो । उक्त अवसरमा बोल्दै नगर प्रमुख सुवेदी, लुम्बिनी दुग्ध विकास संस्थान बुटवलका प्रमुख अयुब खान, नेपाल राष्ट बैंक सिद्धार्थनगरका निर्देशक अशोक पौडेल, संघका पुर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, उपभोक्ता हित संरक्षण मन्च रुपन्देहीका कार्यवाहक अध्यक्ष तेजकुमार पाठक, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम लगायतले दशैं सस्तो बजारले निम्न वर्गीय उपभोक्तालाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।