टेलिकमको सवादुई करोड बालुवामा पानी

1706

भुवन कार्की
पाल्पा, ८ साउन । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ स्थित सत्यवतीमा नेपाल टेलिकमले गरेको सवा दुई करोडको लगानी बालुवामा पानी सरह भएको छ । टेलिकमको चरम लापरवाहीको कारण सेवाग्राही सेमत सुविधाबाट बन्चित भएका छन् ।
सत्यवतीमा डेढ वर्षअघि सञ्चालनमा आएको टेलिकमको टावरले सेवा प्रवाह नगरेपछि सेवाग्राहीहरु सुविधाबाट बन्चित भएका हुन् । सेवा सुचारु गरिएपनि टावरको इक्युभमेन्ट जडानमा नेपाल टेलिकम पाल्पा र श्रेत्रीय कार्यालयले भैरहवाले लापरवाही गरेको कारण सेवा विस्तार हुन नसकेको हो । टवारमा पुरा पावरको बिटीएस जडान गर्नुपर्नेमा माईक्रो बिटीएस जडान गरिएकाले सेवा विस्तार हुन नसकेको ६ महिनाअघि टेलिकम पाल्पाका प्रमुख सन्तोष भण्डारीले प्रतिक्रिया दिएका थिए । मंगलबार पनि भण्डारीले त्यस्तै प्रतिक्रिया दिए । टावरमा ओम्नी एन्टीना जडान गरिएको छ, जहा पुरा क्षमतामा सञ्चालन गर्न तीनवटा सेक्टर एन्टीना जडान गर्नुपर्ने प्राविधिकहरु बताउंछन् ।
यसबारेको जिज्ञासामा नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख ललितकुमारलाल दासले भने, ‘हामी फूल बिटीएस खोजेर तत्काल जडान गर्ने प्रयास गर्छौं, नभए केन्द्रबाट मगाएर केही ढिलो भएपनि सुधार गर्छौं ।’
यसअघि पनि टेलिकम पाल्पाले फूल विटीएसको अभावले माईक्रो बिटीएस जडान गरिएको बताएको थियो । टेलिकमले नाम मात्रको टावर निर्माण गरेको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । स्थानीय वडा नं. ८ का वडापालिका अध्यक्ष थमान रानाले भने, ‘यो टेलिकमको लापरवाही हो, पाँच सय मिटर वरपर पनि काम नगर्ने टावर हामीलाई आवश्यक छैन ।’
वडापालिका र गाउँपालिकाकाले समेत यसबारे कुनै पहल गर्न सकेका छैनन् । वडा अध्यक्ष रानाले गाउँपालिकालाई जानकारी भने गराएको बताए । तर यसअघि पत्र नै पठाएर ध्यानाकष्र्ण गराउने बताएको गाउँपालिका भने अझैसम्म बेखबर छ । जिज्ञासामा रैनादेवि छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले भने, ‘मैले मौखिक रुपमा जानकारी गराएको हुँ, एकपटक पत्र नै लेखेर पठाउँछु ।’ गत माघ महिनामा पनि कार्कीले यस्तै प्रतिक्रिया दिएका थिए ।
यो टवार पुरा क्षमतामा सञ्चालन भए साविकका गाविसहरु सत्यवती, बल्ढेङगढी, जुठापौवा तथा अर्घाखाँची र रुपन्देहीका केही स्थानमा सेवा सुचारु हुन सक्छ ।
स्थानीयबासीले टेलिकमका कर्मचारीले कम गुणस्तरका सामान जडान गरेर भ्रष्टाचार गरेको बताएका छन् । वडा नं. ७ बल्ढेङगढीका अध्यक्ष देवेन्द्र पुनले भने, ‘ठूलो लगानी गरेर सेवा नदिइनु पनि भ्रष्टाचार नै हो, यसको छानविन सम्बन्धीत निकायले गर्नुपर्छ ।’
स्थानीय कुलबहादुर कार्कीले नेपाल टेलिकमको टावर निर्माण गरेर पुरा क्षमतामा सञ्चालन नहुँदा एनसेलको टावरमा समेत समस्या उत्पन्न भएको बताए । उनले भने, ‘टेलिकमको टावर नहुँदा बरु एनसेलले राम्ररी काम गरेको थियो, अहिले एनसेलमा समेत समस्या देखिएको छ ।’ पाल्पा बल्ढेङगढी समाज रुपन्देहीका अध्यक्ष डीबी कार्कीले पनि कमसल सामग्री प्रयोग गर्ने टेलिकमका कर्मचारीलाई छानविन गरि कारवाही गर्नुपर्ने उल्लेख गरे ।
यो टावरको पुरा लागत सवा दुई करोड रहेको यसअघि टेलिकम पाल्पाले बताएको थियो ।