साढे ६ हजार विद्यार्थीलाई छात्रवृत्ति

339

रूपन्देही, जेठ १४ गते । बुटवल उपमहानगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर छात्रवृत्ति वितरण गरेको छ । उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा अध्यय्नरत आधारभूत र मावि तहका ६ हजार ६ सय ९६ जना विद्यार्थीहरुलाई उक्त रकम बराबरको छात्रवृत्ति उपलव्ध गराएको हो ।
उपमहानगरमा ३८ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । ती मध्ये चार वटा धार्मिक विद्यालयका रुपमा रहेका छन् । तिनै सामुदायिकमा अध्यय्नरत छात्रा, दलित र जेहेन्दारलाई छात्रवृत्ति उपलव्ध गराइएको छ । यहाँ संस्थागत विद्यालयहरुको संख्या भने ६२ रहेको छ ।
आधारभूत तहका तीन हजार नौ सय ९६ जनालाई जनही चार सय, आधारभुत तर्फ दलित दुई हजार दुई सय ४८ जनाले जनही चार सय, दलित मावि तहका तीन सय ८२ जनाले नजही पाँच सयका दरले छात्रवृत्ति वितरण गरिएको उपमहानगरका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिनुभयो ।
छात्रवृत्तिका लागि उक्त रकम उपमहानगरले सम्बन्धित विद्यालयहरुमा त्यहाँको तथ्यांकका आधारमा उपलव्ध गराएपछि सोमबार सबै सामुदायिक विद्यालयमा एक साथ वितरण भएको नगर प्रमुख शिवराज सुवेदीको भनाइ छ । गणतन्त्र दिवसको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा एकसाथ छात्रवृत्ति कार्यक्रम सुरु गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।
नगरपालिका भित्रका सामुदायिक विद्यालयमा सोमबारदेखि एकसाथ छात्रबृत्ति वितरण कार्यक्रम सुरु गरिएको उपमहानगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विभाग प्रमुख सीता थापाले जानकारी दिनुभयो । कतिपय सामुदायिक विद्यालयहरुले उपमहानगरले पठाएको रकमका अतिरिक्त विद्यालयमा स्थापना भएका कोषहरुबाट पनि केही छात्रवृत्ति वितरण गर्दै आएका छन् ।
उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ५सय ७२ जना विद्यार्थीका लागि आवश्यक पर्ने पाठयपुस्तकको रकम विद्यालयको खातामा यसअघि नै निकासा गरिसकेको छ । सात सय अति विपन्न छात्र छात्राहरुलाई हाजिरीका आधारमा नियमिततामा प्रेरित गर्नका लागि दैनिक २० रुपैया बराबरको खाजा व्यवस्थापनका लागि रकम उपलब्ध गराउँदै आएको उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उपमहानगरले यस अघि विद्यालय भर्ना अभियान प्राभवकारी रुपमा सञ्चालन गरेको थियो । त्यसक्रममा विद्यालयमा भर्ना हुन नसकेका बालबालिकाहरुलाई खोजी खोजी भर्ना गराइएको थियो ।
नगरपालिकाले शिक्षा ऐनको मस्यौदा तयार गरी कार्यलपालिकामा पेश गरि शिक्षा ऐन पारित भएको र नगर शिक्षा नियमावलीको मस्यौदा छलफलको चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिनुभयो ।