अंग्रेजलाई जितेको उत्सव मनाईयो

378

रूपन्देही, बैशाख ७ गते । ऐतिहासिक बीरताको प्रतिक बुटवलको जितगढीमा शुक्रबार बिजयोत्सव कार्यक्रम गरिएको छ । नेपाली फौजले अंग्रेज फौजलाई हराएको दिनको स्मरणमा ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव मनाइएको हो ।
नेपाली फौजले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा बुटवलमा बृहत्त र्यालीको आयोजनासहित तत्कालिन युद्धको नेतृत्व गरेका कर्णेल उजीर सिंहको शालीकमा माल्यार्पण र नेपाली सेनाबाट बिशेष तोपको सलामी दिएर बिजय उत्सव मनाइएको हो ।
त्यस अवसरमा बोल्दै प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले जितगढी किल्लालाई ऐतिहासिक सम्पदा र पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने बताउनुभयो । उहाँले नालापानी किल्लामा हार्ने नेपालीको इतिहास लेखिनु तर जित्ने जितगढी किल्लाको इतिहास नलेखिनु दुखद भएपनि अव नेपालीले यो किल्लाको राष्ट्रिय अन्र्तराष्टिय क्षेत्रमा प्रचार–प्रसार गर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढी किल्लालाई संग्रहालय बनाउने बताउनुभयो । उहाँले नेपाली फौजले तत्कालिन अवस्थामा लडेको लडाईको बृतचित्र बनाई राख्ने, हालसम्मकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक राख्ने तयारी गरेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेशमन्त्रीहरु कुलप्रसाद केसी, लिला गिरी, काग्रेस संदीय दलका नेता बलदेव शर्मा, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, नगरपालिकाका प्रशासकीय अधिकृत राज बिसी लगायतले जितगढी किल्लाको संरक्षण र प्रवद्धृनमा जोड दिनुभएको थियो ।
जितगढी क्षेत्र रहेको उपमहानगरपालिकाको वडा नंं १ र २ का घरहरुमा एकै रंग लगाउने र वस्तीलाई पुरातात्विक क्षेत्रको रुपमा विकास गर्न उपमहानगरपालिकाले यस बर्ष ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
जितगढीमा १८७२ सालमा वैशाख ७ गते भएको लडाईंमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ ।